• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुली ८ असार ०८३


वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले सुरक्षित र गुणस्तरीय खानेपानी वितरण सुनिश्चित गर्न सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।


स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा सोमबार सिन्धुलीमाढीमा सम्पन्न खानेपानी गुणस्तर निगरानी सम्बन्धी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकतामाथि जोड दिएका हुन् ।


कार्यक्रममा स्वास्थ्य निर्देशनालयका परामर्शदाता सुशिल बन्जाडेले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी गराउनुभयो । उहाँले नागरिकले उपभोग गर्ने पानी रंग, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्ने बताउनुभयो ।


उहाँका अनुसार मापदण्डले खानेपानीमा भौतिक, रासायनिक र सूक्ष्मजीवजन्य सूचकहरूको नियमित परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । विशेषगरी पानीमा ई.कोलाई र दिसाजन्य कोलिफर्म जीवाणु शून्य हुनुपर्ने, पानीको धमिलोपन, पीएच, अवशिष्ट क्लोरिन, फलाम, आर्सेनिक, अमोनिया, नाइट्रेट र फ्लोराइडलगायतका सूचक तोकिएको सीमाभित्र रहनुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।


बन्जाडेले निर्देशिका अनुसार खानेपानी वितरण गर्ने संस्था र सम्बन्धित निकायले पानीको स्रोतदेखि उपभोक्ताको घरसम्मको सम्पूर्ण प्रणालीमा नियमित परीक्षण, अभिलेखीकरण, निगरानी र सुधारात्मक उपाय लागू गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक खानेपानी आयोजनाले अनिवार्य रूपमा खानेपानी सुरक्षा योजना तयार गरी पानीको मुहान, संकलन, प्रशोधन, भण्डारण र वितरणका प्रत्येक चरणमा सम्भावित जोखिम पहिचान गरी त्यसको न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।


जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले वर्षायाममा खानेपानीका मुहान, ट्यांकी तथा वितरण प्रणाली दूषित हुने सम्भावना अत्यधिक रहने भएकाले यस विषयलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । सुरक्षित खानेपानी केवल खानेपानी आयोजना वा स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, उपभोक्ता समिति, स्वास्थ्य संस्था, सञ्चार क्षेत्र र समुदाय सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।


“पानीको गुणस्तरमा हुने सानो लापरबाहीले पनि ठूलो जनस्वास्थ्य संकट निम्त्याउन सक्छ,” उहाँले भन्नुभयो, “रोग फैलिसकेपछि उपचार खोज्नुभन्दा जोखिम हुनुअघि नै रोकथामका उपाय अपनाउनु प्रभावकारी हुन्छ ।” उहाँले प्रत्येक बस्तीमा सुरक्षित खानेपानी योजना निर्माण गरी नियमित परीक्षण, निगरानी र जनचेतना अभिवृद्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो ।


जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन अधिकृत गंगाराम कार्कीले नेपालमा सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार हुँदै गएको भए पनि पानीको गुणस्तर कायम गर्नु अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले सफा देखिने सबै पानी सुरक्षित नहुन सक्ने भन्दै नियमित परीक्षण र निगरानीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


उहाँले खानेपानीको स्रोत, भण्डारण र वितरण प्रणालीको नियमित परीक्षण तथा जोखिम मूल्याङ्कन नगर्दा धेरै पानीजन्य रोगको जोखिम बढ्ने गरेको बताउनुभयो । “खानेपानीको सुरक्षा केवल मुहानमा निर्भर हुँदैन,” उहाँले भन्नुभयो, “मुहानदेखि उपभोक्ताको घरसम्म पुग्ने प्रत्येक चरण सुरक्षित हुनुपर्छ । एउटा चरणमा हुने लापरबाहीले पनि सम्पूर्ण प्रणाली प्रभावित हुन सक्छ ।”


कार्कीले खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीको नियमित सरसफाइ, पानीको गुणस्तर परीक्षण, अभिलेख व्यवस्थापन र उपभोक्तामा जनचेतना फैलाउने काममा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै, स्थानीय तहले आवश्यक नीति, बजेट, प्राविधिक सहयोग र प्रभावकारी नियमनमार्फत सुरक्षित खानेपानी व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउँदै गुणस्तरीय पानी उपलब्ध गराउने विषयलाई सबै जिम्मेवार निकायले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले पानीको गुणस्तरमा हुने कमजोरीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई प्रत्यक्ष असर पार्ने भएकाले यस विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने धारणा राख्नुभयो ।
उहाँले खानेपानी वितरण गर्नु मात्र पर्याप्त नभई उपभोक्तासम्म पुग्ने पानी सुरक्षित र स्वास्थ्यका दृष्टिले उपयुक्त छ भन्ने सुनिश्चित गर्नुपर्ने बताउनुभयो । घरायसी तहमा समेत पानी उमालेर वा शुद्धीकरण गरेर प्रयोग गर्ने बानी विकास गर्नुपर्ने तथा सचेतनामूलक कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरी खानेपानी वितरण गर्ने संस्थालाई थप जिम्मेवार बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।


सिन्धुली अस्पतालका निर्देशक सुशान्त खड्काले वर्षायाममा झाडापखाला, टाइफाइड तथा अन्य पानीजन्य रोगका बिरामीको संख्या बढ्ने गरेको अनुभव साझा गर्दै यस्ता रोगको नियन्त्रणका लागि गुणस्तरीय खानेपानी सबैभन्दा प्रभावकारी रोकथामको माध्यम भएको बताउनुभयो ।


“जनस्वास्थ्यको संरक्षण उपचारमा मात्र सीमित हुँदैन, रोग लाग्नै नदिने वातावरण निर्माण गर्नु अझ महत्वपूर्ण पक्ष हो,” उहाँले भन्नुभयो । उहाँले कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके सुरक्षित खानेपानी वितरण प्रणाली बलियो हुने, पानीजन्य रोगको जोखिम न्यूनीकरण हुने र उपभोक्ताले गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा सहभागी रेशम पोखरेलले दैनिक प्रयोग गर्ने पानीको गुणस्तरप्रति आफूहरू पर्याप्त सचेत नरहेको महसुस भएको बताउनुभयो । कार्यक्रममा सहभागी भएपछि खानेपानीको सुरक्षा केवल सरकार वा खानेपानी संस्थाको मात्र विषय नभई हरेक नागरिकको व्यवहारसँग पनि जोडिएको विषय रहेछ भन्ने कुरा स्पष्ट रूपमा बुझेको उहाँले बताउनुभयो । उहाँले खानेपानी वितरण गर्ने संस्थाले मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने र त्यसको प्रभावकारी नियमनका लागि सम्बन्धित निकाय थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा विभिन्न खानेपानी वितरण गर्ने संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि, उपभोक्ता समिति तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन

सिन्धुली, २ साउन २०८३  सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र

खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया

सिन्धुली १७ असार ०८३ जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना,

सिन्धुलीको तिनपाटन–३ बालमैत्री वडा घोषित

सिन्धुली ५ असार ०८३ सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा