सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन
सिन्धुली, २ साउन २०८३
सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र घाइते हुनेको सङ्ख्या पनि उल्लेख्य रूपमा कम भएको छ । यद्यपि आर्थिक वर्ष २०८२/०८३ मा मात्रै २६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षा अझै पनि चुनौतीपूर्ण रहेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ती सवारीबाट ९९ लाख ४६ हजार ५१६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सोही अवधिमा जिल्लाभर १४६ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने ३२३ जना घाइते भएका छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बालकृष्ण प्रधानले वर्षभर सञ्चालन गरिएका ट्राफिक सचेतना कार्यक्रम, नियमित चेकजाँच तथा प्रभावकारी ट्राफिक व्यवस्थापनका कारण दुर्घटना र ट्राफिक कारबाही दुवैमा कमी आएको बताउनुभयो ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १३ हजार १४७ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट १ करोड १९ लाख ९९ हजार ६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष २०५ वटा दुर्घटना हुँदा ३० जनाको मृत्यु र ५२१ जना घाइते भएका थिए । यस आधारमा एक वर्षको अवधिमा दुर्घटनाको सङ्ख्या ५९ ले, मृत्यु ४ जनाले र घाइते १९८ जनाले घटेको देखिन्छ ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले आर्थिक वर्षभर ४ हजार ८६ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रमबाट ३ लाख ७० हजार ३८७ जना प्रत्यक्ष लाभान्वित भएको कार्यालयको दाबी छ ।
मादक पदार्थ सेवन (मापसे) विरुद्धको अभियानअन्तर्गत १९५ जना चालक कारबाहीमा परेका छन् । यसबाट १ लाख ६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै लागु औषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न २९ पटक विशेष चेकजाँच सञ्चालन गरिएको थियो । ४३७ जना चालकको परीक्षण गर्दा ४५ जनाले लागु औषध सेवन गरेको पुष्टि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी ३ हजार ७६९ कार, जिप र भ्यान कारबाहीमा परेका छन् । त्यसपछि १ हजार ८६५ ट्रक, १ हजार ६११ बस, १ हजार ४६३ मोटरसाइकल, ८७९ ट्याम्पो र ३५४ ट्र्याक्टर कारबाहीमा परेका छन् ।
दुर्घटनामा संलग्न सवारीसाधनमध्ये कार, जिप र भ्यान ४३ वटा रहेका छन् । त्यसपछि ट्याम्पो १७, ट्र्याक्टर १०, मोटरसाइकल १०, माइक्रो बस ९, ट्रक/ट्याङ्कर ७, बस ६ र टिपर ३ वटा दुर्घटनामा संलग्न रहेका छन् । मृत्यु हुनेमध्ये २२ पुरुष, १ महिला, १ बालक र २ बालिका रहेका छन् । दुर्घटनामा ७४ जना गम्भीर घाइते भएका छन्, जसमा ५७ पुरुष, १५ महिला, १ बालक र १ बालिका छन् । २४९ जना सामान्य घाइतेमध्ये १५२ पुरुष, ६१ महिला, १६ बालक र २० बालिका रहेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक तथा सवारी नियम उल्लङ्घन गर्ने १० हजार ५०३ वटा सवारीसाधन कारबाहीमा परेका थिए । तीमध्ये ९ हजार ९४१ वटा सवारीले जरिवाना बुझाएका छन् भने ५६२ वटा सवारी धनीले अझै जरिवाना तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक प्रधानले सडक दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र पैदल यात्री सबैको समान जिम्मेवारी रहने बताउँदै ट्राफिक नियमको पालना, सुरक्षित गति, मादक पदार्थ वा लागु औषध सेवनपछि सवारी नचलाउने बानी तथा निरन्तर जनचेतनामूलक अभियान नै सडक दुर्घटना नियन्त्रणको प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो ।
खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया
सिन्धुली १७ असार ०८३ जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना,
सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न
सिन्धुली ८ असार ०८३ वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले
सिन्धुलीको तिनपाटन–३ बालमैत्री वडा घोषित
सिन्धुली ५ असार ०८३ सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा





प्रतिकृया दिनुहोस