• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया

सिन्धुली १७ असार ०८३


जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना, उपभोक्ता समिति तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग खानेपानी निगरानी सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


कार्यक्रममा खानेपानीको नियमित गुणस्तर परीक्षण, मुहानदेखि उपभोक्ताको धारासम्मको सुरक्षा, पानीजन्य रोगको रोकथाम तथा खानेपानी आयोजनाहरूको प्रभावकारी व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।


सहभागीहरूले सुरक्षित खानेपानी उपलब्ध गराउन नियमित अनुगमन, पानीको नमुना परीक्षण, सरसफाइका मापदण्डको पालना तथा सम्बन्धित निकायबिच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।


जनस्वास्थ्य कार्यालयले सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले खानेपानी आयोजनाहरू, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वयबाट मात्रै गुणस्तरीय खानेपानी सुनिश्चित गर्न सकिने जनाएको छ ।


अन्तरक्रियामा सहभागीहरूले खानेपानी प्रणालीमा देखिएका समस्या, चुनौती तथा सुधारका उपायबारे आफ्ना अनुभव र सुझावसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमले खानेपानीको गुणस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै पानीजन्य रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 


कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले खानेपानीको गुणस्तर नियमित रूपमा परीक्षण र निगरानी नगरे पानीजन्य रोगको जोखिम बढ्ने बताउनुभयो । उहाँले खानेपानीको स्रोतदेखि वितरण प्रणाली र उपभोक्ताको धारासम्म पुग्ने प्रत्येक चरणमा गुणस्तर कायम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार सुरक्षित खानेपानी उपलब्ध गराउनु केवल पूर्वाधार निर्माणको विषय नभई त्यसको नियमित अनुगमन, मर्मत, परीक्षण र व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालका डा. सुदराज पन्थीले खानेपानी सुरक्षा योजनाको अवधारणा, जोखिम व्यवस्थापन तथा खानेपानी गुणस्तर मापदण्डबारे प्रस्तुति दिनुभएको थियो । उहाँले खानेपानीको स्रोत, प्रशोधन, भण्डारण र वितरणसम्मका सम्भावित जोखिमको पहिचान गरी नियन्त्रण गर्न सके दूषित पानीका कारण हुने रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो ।


यस्तै, युनिसेफ नेपालका सुशील बन्जाडेले खानेपानी गुणस्तर परीक्षण, पानी शुद्धीकरणका विधि तथा सुरक्षित वितरण प्रणालीबारे जानकारी गराउँदै स्थानीय तह र उपभोक्ता समितिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।  

 

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन अधिकृत गङ्गाराम कार्कीले पानीको महत्त्व र परिचय, पानीजन्य रोग, पानी प्रदूषित हुने प्रमुख कारण तथा सिन्धुली जिल्लामा खानेपानीको गुणस्तरसँग सम्बन्धित देखिएका मुख्य समस्याबारे प्रस्तुति दिनुभएको थियो । उहाँले दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड, जन्डिसलगायतका पानीजन्य रोग फैलिन सक्ने उल्लेख गर्दै मुहान संरक्षण, नियमित पानी परीक्षण, वितरण प्रणालीको सरसफाइ र आवश्यक मात्रामा क्लोरिन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्कीका अनुसार सिन्धुलीका केही खानेपानी आयोजनामा मुहान संरक्षणको कमी, वितरण पाइपलाइनको जीर्ण अवस्था, नियमित गुणस्तर परीक्षण नहुनु तथा वर्षायाममा पानी धमिलो हुने समस्या चुनौतीका रूपमा देखिएका छन् । उहाँले सुरक्षित खानेपानी सुनिश्चित गर्न स्थानीय तह, उपभोक्ता समिति र सम्बन्धित निकायबिच नियमित अनुगमन र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

 

स्वास्थ्य निर्देशनालय हेटौडाका खानेपानी गुणस्तर निगरानी फोकल पर्सन सुशील आचार्यले खानेपानीको परिचय, सुरक्षित खानेपानीको आधारभूत मापदण्ड तथा खानेपानी गुणस्तरको महत्वबारे प्रस्तुति दिएका दिनु भएको थियो । उहाँले मानव स्वास्थ्यका लागि सुरक्षित, स्वच्छ र मापदण्ड अनुसारको खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै पानीको भौतिक, रासायनिक र जैविक गुणस्तर नियमित रूपमा परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । आचार्यले खानेपानीको गुणस्तरमा देखिने कमीले पानीजन्य रोग फैलिन सक्ने भएकाले मुहानदेखि उपभोक्ताको धारासम्मको सम्पूर्ण वितरण प्रणालीको नियमित निगरानी र गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।


कार्यक्रममा गोलञ्जोर गाउँपालिका बाहेक सिन्धुली जिल्लाका विभिन्न खानेपानी आयोजना, उपभोक्ता समितिका पदाधिकारी, खानेपानी वितरक, स्थानीय तहका खानेपानी तथा सरसफाइ फोकल पर्सन तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन

सिन्धुली, २ साउन २०८३  सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र

सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुली ८ असार ०८३ वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले

सिन्धुलीको तिनपाटन–३ बालमैत्री वडा घोषित

सिन्धुली ५ असार ०८३ सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा