• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

बाम अराजकता र सङ्क्रमणकाल

शान्तिमान कार्की नेकपा (एमाले) बागमति प्रदेश सचिवालय सदस्य

दश बर्षे महान् जनयुद्ध र ०६२र६३ को जनआन्दोलनले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढायो । त्यस अवधिको अनुभवले  शान्तिपूर्ण अवस्थामा भन्दा सङ्घर्षको अवस्थामा आम जनताको चेतना स्तरलाई  हजारौँ गुणा तीव्र रूपमा परिपक्व र सङ्गठित बनाउने काममा सफलता हासिल गर्छ भन्ने प्रमाणित भएको छ । हामीले अहिलेको परिस्थिति बुझ्न र बुझाउनको लागि जति मेहनत गर्छौ कठिन सङ्घर्षको त्यस बेला अहिले भन्दा कम मेहनतमै आम जनताहरू आफ्नो हकहितको बारेमा धेरै भन्दा धेरै कुराहरू बुझ्न सक्ने हैसियतमा पुगेको हुन्छन् । सङ्घर्षको समयमा नेता, कार्यकर्ता र जनताहरू बिचको सम्बन्ध नङ र मासु जस्तै घनिष्ठ र प्रगाढ रहेको हुन्छ । जनतालाई  नेतृत्व  प्रति आशा, भरोसा र विश्वास भएकै कारण अहिलेको युवा पुस्ताले सुन्दा असम्भव र कठिन जस्तै लाग्ने त्याग, बलिदान र उत्सर्गका बेजोड ऐतिहासिक कीर्तिमानी सङ्घर्षहरू सम्भव भएका थिए ।


तर आज परिस्थिति बदलिएको छ । निर्वाचनमा होस या पार्टीको सदस्यता नवीकरण गर्दा आफ्नै कार्यकर्ताहरूलाई मोटो रकम दिएर खरिद गर्नु पर्ने दुखद अवस्था आएको छ । २०७२ सालको संविधान जारी भए पछिका चुनावी अभियान, पार्टीका सभा(समारोह र भेला सम्मेलनहरूको सफलताको आधार जति धेरै पैसा खर्च ग¥यो त्यति नै सफल हुने अवस्था आएको छ । चुनावमा हुने खर्च, जनप्रतिनिधिहरूको संलग्नतामा हुने भ्रष्टाचार र मनपरीले गर्दा सरकार, कर्मचारीतन्त्र, निर्वाचित जनप्रतिनिधिहरू र मूल राजनीतिक दलहरूका विरुद्ध जनता माझ तीव्र घृणा, अविश्वास र विरोध सुरु भएको छ । यसले भोलि सङ्गठित प्रतिरोधको स्तरमा विकास नगर्ला भन्न सकिन्न । जनताको लागि हाम्रो शासन प्रणाली बोझ बन्दै गएका कारण मूलधारका ठुला दलहरू प्रति युवा समुदायमाझ नकारात्मक प्रभाव परेको छ । मुख्य राजनीतिक दलहरूको नकारात्मक  व्यवहारमा सुधार गरेर मात्रै  युवा पुस्तालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रति सकारात्मक र जिम्मेवार बनाउन सकिन्छ ।


 हाम्रो देशका कम्युनिस्ट पार्टी विभाजित  छ । मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई मान्ने दर्जनभन्दा बढी पार्टीहरू सक्रिय छन् । यसै कारणे नेतृत्वमा प्राय निम्न पुँजीवादी बिचार धाराका विभिन्न प्रवृत्तिहरूको बोलवाला रहेको छ । फरक मतका नाममा बर्खे झरीका च्याउ  जस्तै खुलेका कम्युनिस्ट पार्टी नामका खुद्रा पसलहरूले नेपाली श्रमजीवी जनतालाई चरम रूपमा राजनीतिक शोषण गरिरहेका छन् । यसलाई उनीहरूले मुलत स्वैचारिक, सैद्धान्तिक, राजनीतिक कार्यदिशाको भिन्नता सँग जोडेर सबैजसो पार्टीहरूमा ससाना स्वार्थ समूहका झुन्डहरू बिच व्यक्तिगत स्वार्थ पूर्तिको लागि चलिरहने मारामारलाई  विभिन्न प्रकारका रंगरोगन गरेर कम्युनिस्ट राजनीतिक बजारमा खपत गरिरहेका छन् ।


समान खालका राजनीतिक क्रियाकलाप गरिरहेका  पार्टीहरूको माझमा न्यूनतम सहमतिमा एकता हुनु पर्दछ । तर हाम्रो देशका कम्युनिस्ट नेताहरू जजमानको संख््या बढाएर सराद्धेको सिधा कुम्ल्याउन पल्केका पुरेतहरुकको प्रवृत्ति बोकेका नेताहरूले नेतृत्व हत्याउन कै लागि बखेडा झिकेर पार्टी फुटाएको वा अलग पार्टी बनाएको देखिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पछि हाम्रो देशका दुई वटा ठुला कम्युनिस्ट पार्टीहरू बिच भएको एकता दुई वर्ष पनि टिक्न सकेन । यसो हुनुका पछाडि मुलत निम्नपुजिवादी अवसरवादले प्रमुख भूमिका खेलेको थियो ।
नेकपा विभाजन हुनुभन्दा अगाडि चर्को क्रान्तिकारी र अग्रगामी देखिएका प्रचण्ड र माधव नेपालहरू अस्तित्व रक्षाका लागि नेपाली काँग्रेससँग समेत तालमेलका नाममा एउटै चिन्हबाट चुनाव लड्ने ठाउँमा पुग्नुले पनि उनीहरूको निम्न पुजीवादी प्रवृत्ति कति तुच्छ र  नग्न थ्यो भन्ने प्रमाणित भएको छ । फेरि  पनि सामाजिक रूपान्तरण वा समाजवाद स्थापना गर्नका लागि शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणको स्पष्ट नीति र योजनाको निर्माण गर्नु पर्छ । सैद्धान्तिक र  व्यावहारिक एकरूपतालाई आधार बनाउनुपर्छ । अमुक पार्टी प्रतिको असन्तुष्टिलाई एकताको आधार बनाउनु हुँदैन ।


 दिनप्रतिदिन  आम श्रमजीवी जनताको अवस्था झनझन जटिल बन्दै गएको देखिन्छ । बढ्दो महँगी, भ्रष्टाचार र बेथितिले जनतामाझ चरम निराश छाएको छ । पार्टी भित्र साङ्गठनिक अराजकता झनझन बढ्दो छ, वैदेशिक रोजगारीको नाममा युवाहरूको डरलाग्दो पलायनको समाधान गर्ने ठोस कार्यक्रमको अभाव छ । यस्तो अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न चाहने प्रतिगामी शक्तिलाई मलिलो जनाधार  प्राप्त हुनेछ ।


नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको उथलपुथलकारी १० बर्षे जनयुद्धको शान्तिपूर्ण अवतरणको क्रममा  संविधानसभा मार्फत संविधान बनेको ९ वर्ष पछि पनि नेपालको राजनीति संक्रमणकाल कै अवस्थामा रहेको देखिन्छ । क.केपी ओली नेतृत्वको नेकपाको सरकार बाहेक कुनै पनि निर्वाचित सरकारले  दुई वर्ष  कटाएको रेकर्ड छैन । निरन्तर सरकार बन्ने र भत्किने उपक्रम चलिरहेकै छ ।राजनीतिक स्थायित्व छैन ,देश र जनताका लागि यो  सबैभन्दा दुख लाग्दो पक्ष हो । साँच्चिकै भन्नु पर्दा पछिल्लो दशक बाम अराजकताको दशक बन्न पुगेको छ । आफूलाई कम्युनिस्ट भन्ने शक्ति कै अराजकताले गर्दा झन्डै दुई तिहाइ बहुमतमा रहेको वामपन्थी जनमत नेतृत्व तहमा रहेका निम्नपुजीवादी बाम अराजकताबादीहरुको कारण बेवारिसे बन्न पुगेको छ । यो कम्युनिस्ट आन्दोलन र समाजवाद प्रतिको डरलाग्दो विश्वासघात हो ।


अहिलेको विषम र जटिल राष्ट्रिय परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको प्रमुख पार्टीको नाताले  नेकपा ९एमाले०ले  देशलाई  सही राजनीतिक  दिशा निर्देश गर्नु पर्छ । देशमा राजनीतिक स्थायित्व भए सँगै विकास र समृद्धिको लागि अनुकूल वातावरण पैदा हुन्छ । यसले मात्रै जनतालाई सन्तुष्ट बनाउन सकिन्छ । अब पनि अस्थिरता र सङ्क्रमणको अवस्था लामो समय सम्म रहिनु हुँदैन, प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अनावश्यक ऐजेरु जस्ता संरचना र त्यसको स्वरूपलाई चुस्त, छरितो र कम खर्चिलो  बनाउनु पर्दछ । यसले नै जनता राष्ट्रको शिरलाई सगर्व उच्चो पार्नेछ ।

 

प्रतिकृया दिनुहोस

सहकारी अध्यादेश कार्यन्वयनमा चुनौती या अवसर

पृष्ठभूमि सहकारी केवल पूँजीको संकलन र परिचालन गर्ने वित्तीय औजार मात्र होइन, यो स्व(उत्तरदायित्व र स्व(नियमनमा आधारित एक सामाजिक(आर्थिक आन्दोलन

कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा र समकालीन सन्दर्भ

संसार सधैँ परिवर्तनशील छ। नयाँ सोच र सिर्जनाले मानव सभ्यतालाई नयाँ दिशामा डो¥याउँदै ल्याएको छ। वर्गीय समाजको विकाससँगै सुरु भएको शोषण र अन्यायको

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन