• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सिन्धुलीको बर्देउटारमा निःशुल्क माटो परीक्षण शिविरले किसान खुसी

सिन्धुली, १३ चैत ०७९


कृषि तथा पशुपंक्षि विकास मन्त्रालय हेटौडाको सहयोगमा त्रिभुवन विश्व विद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा सोमबार कमलामाई नगरपालिकाको बर्देउटारमा माटो परीक्षण गरिएको छ ।


बर्देउटार, डाडाटोल, खैरेनी र माझिटारमा रहेका खेतीयोग्य जमिनको निःशुल्क एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ । शिविरबाट ६० जना किसान लाभान्वित भएका छन् ।


माटोको उर्वराशक्ति पत्ता लगाउन, माटोमा अम्लीयपना र छारियपना पत्ता लगाउन, बिरुवालाई आवश्यक खाद्यतत्व माटोमा कति छ पत्ता लगाउन अनिवार्य रूपमा माटो परीक्षण आवश्यक भएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका सह–प्राध्यापक डा.बिष्णुविलास अधिकारीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो “किसानको घर खेतमा किसान, विद्यार्थी र प्राध्यापक कृषि विज्ञसँगै हुने र किसानका समस्या के छन् ती समस्याहरू फिल्डमै समाधान गर्ने उद्देश्यले माटो परीक्षण शिविर संचालन गरिएको हो ।”


एक जना विद्यार्थीले दुई जना किसानको माटो सङ्कलन गर्ने र ५० जना किसानको खेतीमा माटो परीक्षण गर्ने लक्ष्य भए पनि थप १० जना किसानले पनि माटो परीक्षण गर्न ल्याएकाले ६० जना किसानको खेतको माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।


तरकारी र अन्नबाली उत्पादन बृद्धि गर्नका निम्ति बर्देउटारको चौतारामा शिविर सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । किसानलाई माटो परीक्षण रिपोर्ट कार्ड समेत प्रदान गरिएको छ ।


शिविरले किसानको खेतीको माटो परीक्षण मात्र नभएर अन्नबाली, तरकारी बाली, पोल्टी फाम लगायत किसानले संचालन गरेका कृषि व्यवसायका समस्याहरू समेत समाधानका बाटे देखाइएको उहाँले बताउनुभयो ।


सिन्धुलीमा माटो परीक्षण पहिलो प्रयास भएको र शिविरपछि किसानलाई माटो परीक्षण सम्बन्धी जनचेतना बृद्धि गरि खाद्यान्न उत्पादनमा बृद्धि गर्न टेवा पुग्ने बताउनुभयो । माटोमा हुने खाद्यतत्वको कमीले समेत खाद्यान्न उत्पादनमा कमी आउने भएकाले आफ्नो खेतको माटोको अवस्था कस्तो छ थाहा पाउन किसानले माटो परीक्षण गर्न उहाँले सुझाव दिनुभयो । माटो परीक्षण गर्न प्राविधिक सहयोग आवश्यक परे कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुर सदैव आवश्यक सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

 

कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटो विज्ञानका प्राध्यापक कृष्ण अर्यालले सिन्धुलीमा नाइट्रोजन कमी, फस्फोरस कमी र पोटासियम ठिक ठिकै पाएको उहाँले बताउनुभयो । किसानलाई मलको प्रयोग सम्बन्धी परामर्श समेत गरिएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गर्दा अम्लीय छारिय भन्दा पनि तटस्थ माटो बढी पाइएको छ ।  किसानलाई युरिया ३ किलो,डिएपि ६ किलो र पोटास १.५ किलो प्रतिरोपनी जमिनमा प्रयोग गर्न सल्लाह दिइएको उहाँले बताउनुभयो ।


माटो परीक्षण पछि किसान कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो “माटो जाँच सुनेका थियौ तर माटो परीक्षण किन गर्ने भन्ने थाहा थिएन अहिले जानकारी पाएका छौ, अहिले निःशुल्क माटो परीक्षण हुँदा माटो परीक्षणले आफ्नो बालिकालागि के आवश्यक पर्दछ भन्ने थाहा हुने भएकाले माटो परीक्षण अनिवार्य रहेछ ।” माटो परीक्षण गर्न २०० देखी ५०० रुपैंया लाग्ने रहेछ तर निःशुल्क माटो परीक्षण र आफ्नो खेतको माटोको अवस्था थाहा पाउँदा खुसी लागेको बताउनुभयो । अन्य किसानलाई माटो परीक्षण गर्न उहाँको सुझाव रहेको छ ।


माटोको नमुना लिँदा ध्यान दिनु पर्ने कुराहरू 

 

l धेरै ठुलो जमिनबाट नमुना सङ्कलन गर्दा एक ठाउँबाट मात्र नमुना सङ्कलन नगरी धेरै ठाउँबाट सङ्कलन गर्ने ।


l नमुना सङ्कलन गर्दा जमिनको माटोको रङ, बनावट, भिरालोपना, बाली व्यवस्थापन फरक फरक छ भने फरक फरक रङ, बनावट, भिरालोपना भएको क्षेत्रबाट छुट्टाछुट्टै नमुना सङ्कलन गर्ने ।


l नमुना सङ्कलन गर्दा आली, कान्ला आदिको नजिकबाट सङ्कलन नगर्ने । भरखरै मात्र मल खाद प्रयोग गरेको जमिनबाट माटोको नमुना सङ्कलन नगर्ने । ठुलो वर्षा वा पानी परे लगत्तै पनि माटोको नमुना सङ्कलन नगर्ने ।


l मल थुपारेको ठाउँ वा गाईबस्तु बाधेको ठाउँबाट पनि माटोको नमुना सङ्कलन नगर्ने । माटोको नमुना सङ्कलन गरिसकेपछि रुख मुनी छहारीमा वा अन्य घाम नपर्ने ठाउँमा सुकाइ ओभानो हुन दिने, ढुङ्गा, झारपातहरू हटाउने ।


l राम्रो सँग सुकेपछि माटो धुलो पारी मिसाउने, ढुङ्गा, झारपात एवम् अनावश्यक चिजलाई हटाई ४ बराबर भागमा बाँडी आमने सामनेको दुई भाग हटाउने, बाँकी रहको २ भाग माटोलाई फेरी मिसाएर पुन चार भागलाई २ भाग राखी २ भाग हटाउने।यो क्रम माटोको नमुना करिब ०.५ के.जी. नभएसम्म दोहो–याउने ।


l आधा केजी माटोको नमुना लिइसकेपछि नमुनामा कृषकको नाम, खेतबारीको किसिम, यस अघि प्रयोग गरेको मल खादको मात्रा, यस अघि लगाइएको बाली, सिँचाइको अवस्था, कृषि चुन प्रयोग गरे/नगरेको, पछि लगाउने बालीको नाम, नमुना सङ्कलन गरेको मिति प्रस्ट लेखी प्लास्टिक वा कपडाको थैलोमा राखी प्रयोगशाला पठाउने ।


 

प्रतिकृया दिनुहोस

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन

कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो

सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८० सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु